विपक्षी गठबन्धनतिर मनाङे, मुख्यमन्त्री संकटमा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन खम्बा बनेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् ।

गण्डकीमा एमालेको बहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको छ । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।

सरकार जोगाउनकै लागि मुख्यमन्त्रीले आफूलाई मन्त्री बनाएको, तर सरकार ढल्नेमात्रै होइन, प्रदेशसभा नै विघटन हुने अवस्था आएपछि आफूले साथ छोड्ने निर्णय गरेको मनाङेले सुनाए । जसले सांसद संख्या ३१ पुर्‍याएर आउँछ, उसलाई साथ दिने आफूले बताएको खेलकुद मन्त्री समेत रहेका मनाङेले बताए ।

गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी (जसपा)का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । मनाङेले साथ दिएमा गुरुङ सरकार ढल्नेछ ।

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार