गण्डकीका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै

विपक्षमा मतदान गर्न कांग्रेस र माओवादी केन्द्रका सांसदलाई ह्वीप जारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन् । मुख्यमन्त्रीले बिहीबार १२ बजेपछि विश्वासको मत लिँदैछन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् ।

मुख्यमन्त्री गुरुङले लिन लागेको विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्रवीप जारी गरेका छन् । बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले ह्रवीप जारी गरेका हुन् । यस्तैगरी नेकपा (एमाले) ले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार