हेटौंडा – हेटौंडामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। हेटौंडा–१८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षीया मैती बयलकोटी बाघको आक्रमणबाट घाइते भएकी हुन्। अपराह्न ४ बजे घाँस काट्न जाँदा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो।
उनको गाला, ओठ र ढाडमा चोट लागेको छ। घाइते बयलकोटीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। मंगलबारदेखि हेटौंडा १८ हर्नामाडीको गुम्बाडाँडामा बाघको आतंक मच्चिएको छ।
मंगलबार स्थानीय हरिमाया मोक्तानका २ वटा बाख्रा खाएको बाघले बुधबार सोही स्थानकै राजु पहेंलीको एउटा बंगुर खाएको छ भने अर्कोलाई घाइते बनाएको छ। गाउँमा बाघले निरन्तर पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित छन्।
अहिले वन कार्यालयबाट घटनाबारे थप बुझ्न त्यसतर्फ गएको प्रहरीले जनाएको छ।