संसद विघटनको मुद्दामा एउटा पक्षले १५ घण्टामात्र बहस गर्न पाउने (आदेशसहित)

संवैधानिक इजलासद्वारा 'एमीकस क्युरी' झिकाउन आदेश

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय निर्धारण गरेको छ ।

रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् । त्यस्तै विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने भएका छन् । कानून व्यवसायीले बढीमा आधा घण्टामात्र समय पाउने गरी निर्धारण गरिएको छ । यो मुद्दालाई चाँडो किनारा लगाउनु आवश्यक हुँदा निरन्तर सुनुवाइ प्रक्रिया अपनाइने भएको छ ।

इजलासले यो मुद्दामा सहयोगीका रूपमा नेपाल बार र सर्वोच्च बारबाट दुई-दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा झिकाउन समेत आदेश जारी भएको छ । बुधबारको सुनुवाइपछि जारी आदेशमा ४ सदस्यीय एमीकस क्युरीको नाम झिकाउन भनिएको हो ।

आदेशमा लेखिएको छ, ‘अदालतको सहयोगी (एमीकस क्युरी)को रूपमा नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुईरदुई जना विद्वान् वरिष्ठ अधिवक्ताहरूको सहयोग उपलब्ध गराइदिन तत्काल लेखिपठाउनू ।’

पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछिको मुद्दामा ५ सदस्यीय एमीकस क्युरी गठन गरिएको थियो । यसपटक चार जनाको मात्रै एमीकस क्युरी गठन भएको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार