नेपाल टी-२० मा ‘फिक्सिङ’को आरोपमा वीरगञ्जका क्रिकेटर पक्राउ

नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ को आरोपमा वीरगन्जबाट एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले वीरगञ्जमा स्थानीय टिमबाट क्रिकेट खेल्दै आएका खेलाडी नितेश गुप्तालाई पक्राउ गरेको हो ।

गुप्तालाई सीआईबीको टोलीले केही दिनअघि पक्राउ परेर काठमाडौं ल्याएको हो । गुप्ताको एक जना राष्ट्रिय टोलीका क्रिकेटरसँग राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धका आधारमा उनले राष्ट्रिय टोलीका खेलाडीसमेत रहेका पोखरा एभेन्जरका सदस्य आरिफ शेखलाई फिक्सिङका लागि ‘हिट विकेट’ गर्न एप्रोच गरेको अनुसन्धानका क्रममा खुलेको थियो । तर, शेखले उनको प्रस्ताव मानेका थिएनन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट कमिटी (आईसीसी) को एन्टी करप्सन युनिट (एसीयू) लाई रिपोर्ट गरेको स्रोतले बतायो ।

उनले एक जना भारतीय नागरिकले अह्राए अनुसार फिक्सिङका लागि एप्रोच गरेको अनुसन्धान अधिकृतहरुको भनाइ छ । प्रहरीले ती भारतीय नागरिकबारे पनि अनुसन्धान गरिरहेको छ । फिक्सिङ गराएवापत प्रति हर्कत ३ लाख रुपैयाँका दरले रकम दिने खेलाडीहरुलाई प्रस्ताव गरिएको अधिकृतहरु बताउँछन् ।

यसअघि सीआईबीले फिक्सिङ र अनियमिततामा नेपाली र विदेशी गरी १० जना संलग्न रहेको जनाएको थियो । सीआईबीले १० माघमा फिक्सिङमा संलग्न रहेको आरोपमा राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

प्रहरीको अनुसन्धानअनुसार ६ जना विदेशी व्यक्ति फिक्सिङ, स्पट फिक्सिङमा जोडिएका छन्, जसमा चार व्यवस्थापकको भूमिका, एक खेलाडी र एक बाहिरी व्यक्ति रहेका छन्, जसले बीचको मान्छेको भूमिकामा बिचौलियाको काम गर्ने गरेको पाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार