स्रोत नखुलेको ३० लाखसहित रौतहटबाट दुई भारतिय पक्राउ

प्रहरीले स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त रकमसहित भारत जिल्ला मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बन्टिकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।

परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर०५आर४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

मोटरसाइकल पछाडि सवार सुरजले बोकेको नाईलुनको झोलामा स्रोत नखुलेको ३० लाख ७६ हजार नगद रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताए । उनका अनुसार उक्त रकमबारे प्रहरीले अनुसन्धान थालेको छ ।

‘मोटरसाइकल र पक्राउ परेकाहरुबारे सोधपुछ हुँदैछ,’  उनले भने,  ‘निषेधाज्ञाको फाइदा उठाउँदै अवैध रकम ओसारपसार गरेको पाइयो ।’ कोभिड १९ को संक्रमण बढेसँगै अहिले सीमा नाका बन्द छ । यही मौका छोपेर स्रोत नखुलेको रकमको ओसारपसार बढेको पाइएको छ । ओसारपसारमा संलग्न अधिकांश भारतीय नागरिक छन् ।

सशस्त्र र नेपाल प्रहरीले सीमा क्षेत्रबाट साउनयता स्रोत नखुलेको १ करोड ३९ लाख बढी रकम बरामद गरिसकेको जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार