कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) को आयोजनामा आजदेखि २८औँ संस्करणको क्यान इन्फोटेक मेला सुरु भएको छ। आयोजक क्यान महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ(नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले मेला गर्न लागेको हो ।
महासंघले आज पत्रकार सम्मेलन गरेर मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महासंघका अनुसार २८औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) रहेका छन्। प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम “इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटी” रहेको छ ।
यो मेला २९ सम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ । महासंघका अनुसार यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि रू १०० र विद्यार्थीका लागि रू ५० शुल्क तोकिएको महासंघले जनाएको छ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ। यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिएको छ ।
साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुनेछ ।