हुम्लामा खाद्यान्न ढुवानी गर्न ढिलाइ

सुर्खेत  – हवाई मार्गबाट खाद्यान्न गर्ने जिम्मेवारी लिएका निजी क्षेत्रका हवाइ कम्पनीले समयमै चामल ढुवानी नगर्दा हुम्लामा समस्या भएको छ । स्थल मार्गसँगै हवाइ मार्गबाट हुम्लामा खाद्यान्न ढुवानी गर्न सात महिनाअघि सम्झौता भएको थियो ।

समिट र ताराले यहाँको खाद्यान्न ढुवानीको जिम्मेवारी लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले बताए । आथिर्क वर्ष सुरु भएको सात महिना पुगे पनि खाद्यान्न ढुवानी सुस्त गतिमा भइरहेको उनको भनाई छ ।

यस वर्ष हवाई तथा पैदल मार्गबाट खाद्य कम्पनीको हुम्ला शाखाका लागि १२ हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ । हालसम्म पैदल तथा हवाई मार्गबाट ५ हजार ४४५ क्विन्टल खाद्यान्न मात्र ढुवानी भएको कार्यालयले जनाएको छ ।

सुर्खेतबाट हवाई मार्ग हुँदै ६ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा समिट एयरले पाएकोमा हालसम्म ३ हजार ८७२.२० क्विन्टल ढुवानी गरेको उनले जानकारी दिए ।

यस्तै, नेपालगञ्जदेखि २ हजार क्विन्टल तारा एयरले ढुवानीको जिम्मा पाएकोमा हालसम्म एक हजार ४६३.३० क्विन्टल मात्रै आइपुगेको छ। त्यसैगरी पैदल मार्गबाट ४ हजार क्विन्टल खाद्यान्न ढुवानीको व्यवस्था भए पनि राजापुरबाट ६०.९० र सुर्खेतबाट ४१.४० क्विन्टल खाद्यान्न ढुवानी भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार