भान्सा कोठामा लुकाएको कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

प्रहरीले मोरङको केराबारीबाट हतियार र ६ राउण्ड गोलीसहित मंगलबार साँझ दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बू र केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेशकुमार लिम्बू रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय केराबारीको सहयोगमा दुवै जनालाई गणेशको घरबाटै पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कटुवा पेस्तोल र ६ राउण्ड गोलीसहित गणेशको घरको भान्सा कोठामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पेस्तोलसहित ३०३ राइफलको पाँच राउण्ड र पेस्तोलको एक राउण्ड गोली बरामद भएको हो ।

बेलबारीबाट को १ च ८३६८ नम्बरको कारभित्र राखेर गोली र पेस्तोल पदमले गणेशको घरसम्म पुर्‍याएको खुलेको एसपी खड्काले बताए । गणेशकै घरको आँगनमा पार्किङ गरेर राखिएको अवस्थामा खानतलासी गर्दा कारभित्रबाट खुकुरी र चक्कु पनि बरामद भएको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार