नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । अस्पताल स्रोतका अनुसार उनको निधन आज बिहान करिब साढे ६ बजेतिर भएको हो ।

उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । उनको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँ (भारु)को विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।

जागिरबाट अवकाश भएपछि उनले गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल भित्राएका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक र हिमालयन डिस्टिलरी स्थापना गरेका थिए ।

जबरा गभर्नर हुँदा जापानमा नेपालको येन अकाउन्ट खोलेका थिए । त्यसबाट नेपाल–जापानमा मुद्रा विनिमयमा सहज हुनुका साथै दुई देशबीचको आर्थिक सम्बन्ध पनि विकास भएको थियो । जापान सरकारबाट उनले उच्च श्रेणीको ‘द अर्डर अफ द राइजिङ सन’को ‘गोल्ड एण्ड सिल्भर’ अवार्डसमेत पाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार