भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले एक दम्पतीलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी सार्वजनिक गरेको छ । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका हुन् ।

माघ १९ गते रुरुक्षेत्र गाँउपालिका–२ गुदेनबगरस्थित स्याङ्जा र गुल्मी जिल्लाको सिमाना भई बग्ने कालीगण्डकी नदीको किनारमा भारतीय नागरिक शेखको शव फेला परेको थियो ।

उक्त घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको काठमाडौँको टोली घटनास्थलमा खटिएको थियो । अनुसन्धानका क्रममा अधिकारी दम्पतीले नै भारतीय नागरिकको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

भारतीय नागरिक शेख कामको सिलसिलामा आउँदा सोही स्थानमा अधिकारी दम्पतीले सञ्चालन गरेको भुवन होटलमा बस्दै आएका थिए । मादक पदार्थ सेवन गरी आफ्नी श्रीमतीलाई जिस्काउने गरेको कारण छविलालले शेखको टाउकोमा हथौडा प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए ।

भोलि (आइतबार) अधिकारी दम्पतीलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । मृतक शेखको पहिचान उनका भिनाजुले कपडाको आधारमा गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार