कमसल निर्माण संरचनाले फाप्लु विमानस्थल जोखिममा, सिभिल इन्जिनियरिङ विभाग बेखबर

गुणस्तरहीन निर्माण संरचनाका कारण सोलुखुम्बुको फाप्लु विमानस्थल पहिरोको जोखिममा परेको छ । वर्षातले पुराना संरचना भत्कने तथा नयाँ संरचना निर्माणमा समेत टालटुले प्रवृत्तिले विमानस्थल जोखिममा परेको हो । निर्माणको जिम्मा लिएको कम्पनीले मापदण्ड विपरीत बनाएका कमजोर संरचनालाई नियामक निकायले नजरअन्दाज गरेकाले विमानस्थल प्रशासन, विमान कम्पनीका प्रतिनिधिहरुमा जुनैकुनै आउन सक्ने विपत्तिको त्रास बढेको छ ।

वर्षायाम सुरु नहुँदै परेको सामान्य वर्षाले विमानस्थल कार्यलयको माथिल्लो भागको घेराबार भत्किएको छ । जसका कारण टर्मिनल भवनमा समेत क्षति पुगेको छ । माथिबाट खसेको पहिरो टर्मिनल भवनमा पर्दा भवनको झ्याल तथा सिसा फुटेको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख रमेश महत बताउँछन् ।

भत्किएको क्षेत्र मर्मत सुरु भएको छ । तर, मर्मतको नाममा भएका टालटुले कामले थप जोखिम बढाउने त्रास कायमै छ । विमानस्थलको माथिल्लो भागमा केहीसमय अघिमात्रै लगाइएको ग्याभिङ वालसमेत लच्किँदा जोखिम उच्च भएको फाप्लु उडान गरिरहेका विमान कम्पनीका प्रतिनिधि बताउँछन् ।

राज्यको मोटो लगानीमा निर्माण भएका संरचना निर्माण कम्पनीको लापरबाहीले थप जोखिमपूर्ण बन्नु दुःखद भएको भन्दै स्थानीय जिल्ला प्रशासन अधिकारीले समेत विमानस्थल प्रशासनको ध्यानाकर्षण गराएका छन् । नेपाल नागरिक उडड्यान प्राधिकरणको केन्द्रीय कार्यालयले निर्माणको जिम्मा दिएको कम्पनी स्थानीय प्रशासनको सम्पर्कमा नभएकाले अनुगमनमा कमजोरी भेटिएपनि कारबाहीको प्रक्रिया आफु मातहत नरहेको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको भनाई छ । शाहीले भने, ‘अनुगमनपछि फाप्लु विमानस्थल प्रशासनलाई कमसल निर्माण संरचना कारण जोखिम निम्तिएकोबारे केन्द्रमा पत्राचार गरेर जानकारी दिन निर्देशन दिएको हुँ ।’ सोही अनुसार फाप्लु विमानस्थलले नागरिक उडड्यान प्राधिकरणलाई पत्राचार गरेपनि कोभिडको कारण देखाएर अहिलेसम्म केन्द्रले अनुगमन समेत नगरेको उनको भनाई छ ।

यता प्राधिकरण सिभिल इन्जिनियरिङ विभाग भने कमसल निर्माण संरचना कारण पहिरोको उच्च जोखिममा परेको फाप्लु विमानस्थलबारे बेखबर जस्तै छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सिभिल इन्जिनियरिङ विभागका निर्देशक प्रदीप अधिकारीले आफूलाई यसबारेमा जानकारी नै नभएको प्रतिक्रिया दिए । कोभिड १९ को कारण जारी निषेधाज्ञाको कारण देखाउदै आफूले घटनास्थलको निरीक्षण गर्न नपाएकाले त्यस विषयमा आयोजना प्रमुखलाई जानकारी भएको भन्दै पन्छिएका छन् ।

इन्जिनियर अधिकारीले आफूलाई जानकारी नै नभएको भनेपनि फाप्लु विमानस्थलबाट निरन्तर पत्राचार गरेर ध्यानाकर्षण गराएपछि अहिले टर्मिनल भवनमाथिबाट खसेको पहिरो पन्छाउने र यसबाट भएको क्षति पुनर्निर्माणको लागि स्थानीय आयोजना प्रमुख मार्फत विभागीय मन्त्रालयमा जानकारी गराउने काम भएको छ । पहिरो पन्छ्याउन र टर्मिनल भवनमा भएको क्षतिको मर्मतसम्भारका लागिमात्रै अनुमानित करिब १५ लाख रकम लाग्ने रिर्पोटसहितको पत्र आयोजना प्रमुख रत्न बहादुर श्रेष्ठले मन्त्रालयमा पठाइसकेका छन् । तर, पहिरोका कारण टर्मिनल भवनमा भएको क्षतिको दायित्व कमसल संरचना बनाउने कम्पनीको हुने वा सरकारको भन्नेमा भने प्रमुख श्रेष्ठ नै दुविधामा छन् ।

नागरिक उड्डयन प्राधिकरणको आठ करोड ७८ लाख रुपैयाँको लागतमा काष्ठमण्डप उमा एन्ड कम्पनी जेभी काठमाण्डौले १ वर्षअघि पार्किङस्थलसहित घेराबार निर्माण गरेको हो । निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको स्थानीयवासीले समेत आरोप लगाएका छन् । तर निर्माण कम्पनीका प्रमुख दिनेश रिजालले भने ठेकेदार कम्पनीको कुनै पनि कमजोरी नरहेको दाबी गरेका छन् । रिजालले हामीले राम्रोसँग संरचना निमार्ण गरेर हस्तान्तरण गरि भुक्तानीसमेत लिइसकेकाले यसपछि हुने क्षतिको दायित्व नहुने जिकिर गरे ।

कानुनतः कुनै पनि संरचना निर्माणपछि एकवर्षसम्म हुने जस्तोसुकै क्षतिको जिम्मा निर्माण कम्पनीको हुने व्यवस्था छ । तर, फाप्लु विमानस्थलको तारबार निर्माणको सवालमा टालटुले काम हुँदा बारम्बार पहिरोको जोखिम थपिएको स्थानीयको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार