विपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन ।

विपक्षी दलका नेताहरुलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठकमा बोलाए पनि उसले आफनो पार्टीको तर्फबाट को उम्मेदवार दिने भन्ने जानकारी भने गराएन । सो पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार २३ माघमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि नाम भने अझै चयन भएको छैन । यद्धपी, आजको बैठकमा प्रारम्भिक कुरा भएकाले भोली बस्ने बैठकबाट नाम टुंगाइनेछ ।

कांग्रेसले यसअघि नै पदाधिकारी बैठकबाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी लिने निर्णय गरिसकेको छ । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो पार्टीबाट कोही पनि उम्मेदवार नहुने जानकारी गराइसकेका छन्  । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले भने सो बारेमा कुनै धारणा सार्वजनिक नगरे पनि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने संकेत बैठकमा दिएको छ । बैठक भोली पनि बस्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार