राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् । त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उनलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गरे।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (उपेन्द्र पक्ष)को समर्थनमा उम्मेदवार बनेका पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।

पाण्डेले ४ हजार १४० मतभार प्राप्त गरे भने खड्काले ३५९४ मतभार प्राप्त गरेका थिए । स्थानीय तहमा नेकपा एमालेका खड्काले ९४ र नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले ११८ मत प्राप्त गरेका थिए । यस्तै प्रदेश सभाबाट खड्काले ४० र पाण्डेले ४२ मत प्राप्त गरेका थिए ।

पाण्डे यसअघि कपिलवस्तु जिल्ला २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभा सदस्यको निर्वाचन लड्नुअघि उनी नेपाली कांग्रेसमा आवद्ध थिए। चुनाव लड्न उनी एमालेमा प्रवेश गरेका थिए। पछि उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेससहितको गठबन्धले उनलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार