नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद चौधरीको रिहा गर्न सरकारलाई पार्टीका प्रवक्ता दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै अल्टिमेटम दिएका हुन् ।
पण्डितले जारी गरेको विज्ञप्तिमा २४ घण्टाभित्र रिहा नगरे त्यसपछि घट्ने घटनाको दोषी सरकार र सम्बन्धित निकाय हुने चेतावनी दिइएको छ । विज्ञप्तिमा आफूहरूलाई जबरजस्ती आन्दोलनमा धकेल्ने प्रयास भएकोसमेत आरोप लगाइएको छ ।
कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई १३ वर्ष पुरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । तर उनी त्यो सजाय भुक्तान नगरी सांसद निर्वाचित भएका थिए ।
बाँकेमा पक्राउ परेका चौधरीलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याएर फेरि धनगढी लागिएको छ।