राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीका लागि २ दिन पर्खिने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्न दुई दिन समय मागेकाले त्यतिबेलासम्म पर्खिने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए । प्रवक्ता ढकालले बैठक जारी रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष रवि लामिछानेलाई फोन गरेर २ दिन कुर्न आग्रह गरेकाले कुर्ने निर्णय गरेको बताए ।

उनले नेताहरूले २ दिन कुर्न गरेको आग्रहमा राजनीतिक इमानदारिता देखाउन पनि कुर्नुपर्ने भन्दै गृह मन्त्रालय आफ्नो पार्टीले पाउने र सरकारका न्यूनतम साझा कार्यक्रम लागु गर्न भनेर नै यसअघि सरकारमा गएको बताए ।

पुष्पकमल दाहाल प्रचण्ड सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानको सांसद पद खारेज गरेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पनि पदमुक्त भए । लगतै नागरिकता लिएका लामिछानेले फेरि उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार