जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तर्घात गर्नेहरूमाथि स्पष्टीकरण सोध्ने कामलाई तीव्रता दिएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानविन समितिले जिल्ला जिल्लामा पुगी निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरुको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको छ।
पार्टी प्रचार विभागले जनाए अनुसार समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरुबारे सत्यतथ्य बुझ्ने कार्य गरिरहेको छ। टोली बुधबार सर्लाहीको मलङ्गवा पुगेको थियो।
पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरुमाथि निर्वाचनमा अन्तरघातको आरोप लागेको छ ।
पार्टीको राजनीतिक समितिको बैठकले छानबिन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समय सीमा दिएको छ ।