तारक मेहताले पाएनन् पूरा पारिश्रमिक

मुम्बई । भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘तारक मेहताका उल्टा चश्मा’ कुनै न कुनै कारण चर्चामा आइरहन्छ । केही महिना अघि यसका कलाकारहरु शैलेश लोढा, राज अनादकट र निर्देशक मालव राजदाले शो छोडे । अहिले भने यो शो छोडेका कलाकारको पारिश्रमिक नदिएको विषयले चर्चा पाएको छ ।

शोमा तारक मेहताको भूमिका निभाएर चर्चा पाएका शैलेशको हालसम्म पारिश्रमिक मिलान भइसकेको छैन । शैलेशले यो शोमा करिब १४ वर्ष बिताए । उनले ७ महिना अघि मात्र शो छोडेका थिए । उनको स्थानमा अहिले सचिन श्राफ तारक मेहताको भूमिका निभाइरहेका छन् ।

शोले शैलेशको एक वर्ष बढी समयको पारिश्रमिक दिएको छैन । यो पारिश्रमिक करिब ६ डिजिटको छ । शैलेश एक वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहे पनि निर्माता असित कुमार मोदी शैलेशलाई पारिश्रमिक दिने विषयमा कुनै ध्यान दिइरहेका छैनन् ।

स्रोतका अनुसार शैलेशले शोरनरका साथ विवादका कारण शो छोडेका थिए । उनले आफूलाई अपमानित भएको महशुस गरेपछि विना कुनै जानकारी शो छोडेका थिए । शो छोडेदेखि शैलेश शोको विषयमा मौन छन् ।

कलाकारले शो छोडे पनि पूर्ण पारिश्रमिक नपाएको यो पहिलोपटक होइन । यसअघि अभिनेत्री नेहा मेहताले पनि शो छोडेपछि पूर्ण पारिश्रमिक पाएकी थिइनन् । उनले अभै पनि झण्डै ४० लाखको हाराहारीमा पारिश्रमिक पाउन बाँकी छ । त्यस्तै ‘टप्पू’को भूमिका निभाउने राज अनादकट पनि यस्तै समस्याबाट पीडित थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार