मालपोत कार्यालय जलेश्वरबाट पाँच जना बिचौलिया पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट बिचौलियाको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा महोत्तरीको मटिहानी नगरपालिका ९ का ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका २ का ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका १ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका ४ का ५४ वर्षीय सुरेश गोप र बलवा नगरपालिका १० का ३८ वर्षीय अमित कुमार मल्लिक छन् ।

काम छिटो छरितो गराईदिन्छु भनि प्रलोभन देखाई पैसा मागी बार्गेनिङ गरिरहकै अवस्थामा पक्राउ परेका पाँचै जना बिचौलियालाई जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा उपस्थित गराई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सेवाग्राहीको काम कार्यालयमा आफै पुगेर गरिदिने, सेवाग्राहीसँग बढी रकम लिने लगायतका गुनासो आएपछि निगरानी राखेर उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । सेवाग्राहीको बढी भिडभाड हुने गरेको फाईदा उठाउँदै बिचौलियाहरु सक्रिय भएको जनगुनासो आउन थालेपछि प्रहरीले सोको रोकथापका लागि यो कदम उठाएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार