निहारिका र शिवराजबीच मिलापत्र

आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी निहारिका राजपूतले अन्ततः शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी छिन् । सोमबार धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै निहारिकाले मिलापत्र गरेकी हुन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेकी छन् ।

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी उनले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको भनेकी छन् ।

‘म र नाबालक छोरा समेतलाई इज्जत अनुसार खान, लाउन, औषधोपचारखर्च, छोराको पढाइ लेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको‘’, मिलापत्रमा भनिएको छ ।

निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् । उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार