एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क घटेको छ । बैंक तथा वित्तीय संस्थाले अन्तर एटीएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् । यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।
राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमार्फत अन्तर एटीएम कारोबार शुल्क घटाइएको हो । ‘बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रतिकारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’ एकीकृत निर्देशिकामा भनिएको छ ।
राष्ट्र बैंकले सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा सम्बन्धित सेवा प्रदायकले लिने अधिकतम शुल्क पनि निर्धारण गरेको छ । जसमा ५ हजारसम्मको प्रति कारोबार अधिकतम सेवा शुल्क ५ रुपैयाँ, ५ हजार १ देखि १० हजारसम्म ८ रुपैयाँ र १० हजार १ देखि माथी १० रुपैयाँ लाग्ने छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोवाइल एप्लिकेशन वा इन्टरनेट बैंकिङ्गमार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरूले प्रति कारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।