प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न निवर्तमान गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन् । उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको थियो ।  यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर लामिछानेले आफू गृह मन्त्रालयमा फर्किने चाहना जानकारी गराएका थिए ।

नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार सांसद पद खारेज गरेपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद समेत गुमाएका थिए । आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेर नागरिकता लिएका उनी अपरान्ह पार्टी सभापति चुनिए ।

आइतबार लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका थिए ।

उनले गैरसांसदलाई मन्त्री बनाउने सक्ने संविधानको धारा ७८ को व्यवस्थालाई टेकेर फेरि उपप्रधान तथा गृहमन्त्री हुन चाहेको संकेत गरेका छन् ।

लामिछानेले चितवन २ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार