पाकिस्ताको पेशावरमा एक शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ५९ जनाको मृत्यु भएको छ । घटनामा परेर १५० जनाभन्दा बढी मानिसहरू घाइते भएका छन् ।
स्थानीय समय अनुसार सोमबार दिउँसो करिब १ ३० बजेतिर मानिसहरू भरिभराउ एक मस्जिदमा उक्त विस्फोट भएको थियो ।
मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारी छन् । मस्जिद रहेको उक्त क्षेत्र सबैभन्दा बढी नियन्त्रित क्षेत्रमध्ये एक हो । यहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरोका कार्यालयहरु छन् ।
उच्च सुरक्षा प्रबन्ध मिलाइएको क्षेत्रमा भएको विष्फोटपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै आतंकवादीहरुले पाकिस्तानको रक्षा गर्नेहरुलाई निशाना बनाएर डर पैदा गर्न खोजेको टिप्पणी गरेका छन् । शरीफले आतंकवादविरुद्ध पूरा देश एकजुट रहेको पनि बताएका छन् ।
बम बिस्फोटपछि उक्त भवनको एउटा भाग ध्वस्त भएको छ । पेशावरका प्रहरी प्रमुखले स्थानीय सञ्चारमाध्यमहरूलाई बताए अनुसार मस्जिदमा विस्फोट हुँदा त्यहाँ ३०० देखि ४०० को बीचमा प्रहरी उपस्थित थिए ।