भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मृत्यु भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका १२ दुरनेटाका अम्बर डाँगीकी ११ वर्षीया छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनकी दिदी दीपा नदीमा बेपत्ता भएकी छन् भने एक किशोर घाइते भएका छन् ।

उनीहरुसँगै गएका सोही ठाँउका १७ वर्षीय रामबहादुर डाँगी घाइते भएका हुन् । उनलाई नदीमा बग्दाबग्दै उद्धार गरिएको हो ।

जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका हुन् ।

गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरे पनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ । बेपत्ता दीपाको खोजी भइरहेको भेरी नगरपालिका १ कालेगाँउका सहदेव बस्नेतले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार