धनुषामा हिरासत फोडेर भागेका एक जना थुनुवा पक्राउ

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हातहतियार मुद्दाका आरोपित मिथिला नगरपालिका वडा नम्बर-६ का २८ वर्षीय रोशन महतो रहेका छन् । महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट भित्ता फोडेर ६ जना थुनुवा भागेका थिए । प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले बताए ।

हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार