पोखरामा आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउने क्रममा जलेकी महिलाको मृत्यु

पोखरामा आइतबार विहान जलेका दुई जनामध्ये महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १३ काँहुखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षत्रीलाई बचाउने क्रममा घरबेटी स्वंय सख्त घाइते भएकी थिइन् ।

प्रहरीका अनुसार कृष्णले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी महिलाले देखेर बोतल खोस्दा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो ।

दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् ।

प्रहरीका अनुसार कृष्ण आर्थिक समस्यामा थिए । उनकी श्रीमतीले मादीको ताङतिङमा पढाउँछिन् । कृष्णले प्रहरीलाई आफू आर्थिक समस्यामा रहेको र मर्न पाउनुपर्ने बताएका छन् । प्रारम्भिक अनुसन्धानले कृष्ण डिप्रेसनमा रहेको पाइएको छ । उनले चिकित्सकहरुलाई पनि आफूलाई बाँच्न मन नभएको भन्दै उपचार नगर्न आग्रह गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार