भिसा नपाएपछि हजारौं डिभी विजेताका तर्फबाट बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर

भिसा नपाएपछि हजारौं डाइभर्सिटी भिसा (डीभी) विजेताको तर्फबाट बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन रोक खारेजपछि बाइडेन प्रशासनमा पनि भिसा नपाएपछि बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर गरिएको हो ।

आर्थिक वर्ष २०२१ का २४ हजार ८९ डिभी विजेताहरुका तर्फबाट वासिंटन डिसीमा रहेको अदालतमा मुद्दा दायर गरिएको कानून व्यवसायी कुर्तिस मोरिसनले ट्वीट गरेका छन् । कोभिड-१९ महामारीको कारण अमेरिकाले तत्काल विदेशीलाई भिसा नदिने देखिएपछि २०२१ का डीभी विजेताहरु अमेरिका जाने सम्भावना लगभग गुम्ने देखिएको छ । सेप्टेम्बरको अन्तिमसम्म भिसा पाइसक्नुपर्ने प्रावधान रहेका कारण अब ४ महिना पनि बाँकी नरहेको अवस्थामा डाइभर्सिटी भिसालाई प्राथमिकता दिन आग्रह गर्दै मुद्दा दायर गरिएको हो ।

१४२ देशका डीभी विजेताको तर्फबाट उक्त मुद्दा दायर गरिएको जनाइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले पनि भिसा जारी नगरेपछि सन् २०२१ का नेपाली डीभी विजेता पनि चिन्तित् छन् । आर्थिक वर्ष २०२१ मा ३ हजार ८०१ जना नेपालीहरुले डिभी जितेकोमा अहिलेसम्म कसैले पनि भिसा पाउन सकेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार