गैरसांसदलाई मन्त्री बनाउन सक्ने व्यवस्थाबाट फेरि गृहमन्त्री बन्ने रविको चाहना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृह मन्त्रालयमा फर्किने चाहना जानकारी गराएका छन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार सांसद पद खारेज गरेपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद समेत गुमाएका थिए । आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेर नागरिकता लिएका उनी अपरान्ह पार्टी सभापति चुनिए ।

साँझ उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन् ।

उनले गैरसांसदलाई मन्त्री बनाउने सक्ने संविधानको धारा ७८ को व्यवस्थालाई टेकेर फेरि उपप्रधान तथा गृहमन्त्री हुन चाहेको संकेत गरेका छन् ।

लामिछानेले चितवन २ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ र आश्वासन दिएनन् । उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिए।

आइतबार सभापति चयन गर्न बसेको केन्द्रीय समिति बैठकले पनि पुन आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार