प्रमोद खरेलले घाइतेको उपचारमा पारिश्रमिक खर्चिने

गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइते भएकाहरूका लागि खर्च गर्ने भएका छन् ।

शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा टेलिफोन गरी खरेलले उक्त जानकारी दिएका हुन् । रकमका विषयमा खरेलले नबताए पनि उनले घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेहरूका उपचारमा खर्च गर्ने जानकारी दिए ।

गएराति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ । घाइतेहरूको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले पहल गरेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने सङ्घका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

घटनापछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार