सत्ता साझेदारीका विषयमा जसपाभित्र विवाद (भिडयो)

एक पक्ष ओली इतर समूहसँग सहकार्य गर्ने पक्षमा, अर्को पक्ष ओलीलाई समर्थन गर्ने पक्षमा

सत्ता साझेदारीका विषयमा प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलका विषयमा जनता समाजवादी पार्टी (जसपा) भित्र तिव्र विवाद भएको छ ।

जसपाका केहि नेता ओलीसँगको वार्ताका विषयमा असन्तुष्ट देखिएको छ भने अर्को पक्षले आफ्ना मागका बारेमा मात्र प्रधानमन्त्रीसँग वार्ता गरेको दाबी गरेको छ । मंगलबार बालुवाटारमा जसपा नेता र सरकारी कार्यदलबीच छलफल भएको थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले भने पार्टीका तर्फबाट ओलीसँग कुनै छलफल नभएको बताए । प्रधानमन्त्रीसँगको भेटघाट व्यक्तिगत हुन सक्ने तर पार्टीको औपचारिक छलफल नभएको उनले तर्क गरेका छन् ।

अन्य दलसँग छलफल गर्नका लागि डा बाबुराम भट्टराई, आफु स्वयं, महन्थ ठाकुर, राजेन्द्र महत्तो र आशोक राई सम्मिलित टिम नै पार्टीको आधिकारीक टिम रहेको भन्दै यादवले आफुहरुले प्रधानमन्त्रीसँग कुनै छलफल नगरेको बताए । उनले कोहिले पनि व्यक्तिगत रुपमा कसैसँग भेट गर्न सक्ने र यसलाई पार्टीभित्रको मतभेद भन्न नमिल्ने जिकिर गरे ।

यता जसपा नेता राजेन्द्र महतोले भने प्रधानमन्त्रीसँगको छलफलका बारेमा अध्यक्ष र पार्टीलाई जानकारी गराउन नै बाँकी रहेको बताए । उनले छलफलका लागि जन्ती र जुलुस लिएर जान नमिल्ने भन्दै बालुवाटारबाट खबर आएकाले छलफल गर्न गएको उल्लेख गरे । छलफलमा जे निष्कर्ष आएपनि पार्टीभित्र छलफल गरिने उनको भनाइ छ । प्रधानमन्त्रीसँगको छलफलका क्रममा आफूहरुको मागका बारेमा छलफल भइरहेको र राम्रो गृहकार्य भइरहेको पाइएको उनले बताए ।

जसपाको एक पक्ष ओली इतर समूहसँग सहकार्य गर्नुपर्ने पक्षमा छ भने अर्को पक्ष वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई नै समर्थन गर्ने पक्षमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार