प्रदेश २ को प्रदेशसभा बैठक विपक्षीद्वारा अवरुद्ध

प्रतिपक्षी दलका सांसदहरूले प्रदेश २ सभा बैठक अवरुद्ध गरेका छन् । उनीहरुले स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । प्रदेश सरकारले गलत नियतले पालिकाहरूमा शसर्त अनुदानको रकम पठाएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बैठक अवरुद्ध पारेका हुन् ।

उनीहरुले मुख्यमन्त्री लालबाबु राउतले पटक-पटक सच्याउने आश्वासन दिएपनि त्यसो नगरेकाले बैठक चल्न नदिने चेतावनी दिए । सभामुख सरोज यादवले प्रदेशसभा बैठक शुरू गरेलगत्तै तीनै दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए । एमालेका सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले चलाखीपूर्ण तरिकाले सशर्त अनुदानको रकम पालिकामा पठाएर सांसदहरूको अपमान गरेको बताए । उनले भने, ‘हामीले पटक-पटक सम्बन्धित प्रदेशसभा सदस्यको सिफारिस र परामर्शमा रकम पठाउन भनेका थियौं । तर त्यसको कुनै सुनवाइ भएको छैन ।’

नेपाली कांग्रेसका सांसद विरेन्द्र सिंहले प्रदेश २ का मुख्यमन्त्रीले प्रदेशसभामा बोलेको कुनै पनि प्रतिबद्धाता पूरा नभएको आरोप लगाए । स्थानीय तहको शसर्त अनुदानको योजना प्रदेश सांसदको सिफरिसमा छनौट गर्ने सहमती विपरित स्थानिय तहलाई योजना पठाएकोमा सांसद सिंहले आपत्ति जनाए । सांसद र स्थानीय तहले छनोट नै नगरी सरकारले योजना लादेको छु, सांसद सिंहले भने,‘स्थानीय तहका प्रमुख र प्रदेश सांसदलाई थाहा छैन । योजना कसले छान्यो रु मुख्यमन्त्रीले जवाफ दिनु पर्छ ।’ प्रदेश सांसदले दिएको योजना स्थानीय तहमा नगए सम्म प्रदेशसभा सञ्चालन हुन नदिने उनले चेतवनी दिए ।

माओवादी केन्द्रका सांसद रामकुमार यादवले मुख्यमन्त्री लालबाबु राउत पटकपटक बचपना प्रवृत्ति देखाएको आरोप लगाए । प्रदेश सांसदले दिएको योजनालाई रद्दिको टोकरीमा फालेर सरकारले पार्टीका नेता पाल्ने योजना स्थानिय तहमा पठाएको आरोप लगाए ।

सांसदहरुले मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार