बतास समूहको कम्पनी बी म्यानेजमेन्ट कालोसूचीमा

नारायणहिटी दरबार संग्राहलयभित्र व्यापारिक क्रियाकलाप गर्न सम्झौता तथा मापदण्डविपरित संरचना निर्माणको काम गरेको बतास समूहको कम्पनी बी म्यानेजमेन्ट प्रालि कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार सूचना प्रकाशन गर्दै उक्त कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिइएको छ ।

व्यापारिक घराना बतास समूहको संलग्नता रहेको बी म्यानेजमेन्ट प्रालि त्यहि कम्पनी हो, जसले गत वर्ष नारायणहिटी दरबार संग्रहालयभित्र विभिन्न संरचना निर्माण गरेको थियो ।

त्यो बेला बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नाममा ठेक्का पाएको सो कम्पनीलाई पछि नाम परिवर्तन गरेर बी म्यानेजमेन्ट बनाइएको थियो ।

नक्सा पाससमेत नगरि नारायणहिटीभित्र लाइभ म्युजिक सहितको क्लब र बार चलाउने योजनासहित भौतिक संरचना निर्माण गरेपछि त्यति बेला विवाद भएको थियो । तत्काललाई उक्त कम्पनीसँग भएको सम्झौतालाई रोकेर सरकारले छानबिन गरेपश्चात उक्त कम्पनीलाई आवश्यक कामकारबाही गर्न भनेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको सिफारिसमा कम्पनीलाई कालोसूचीमा राखिएको सूचनामा जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार