रविले राज्यसंयन्त्रलाई ढाँट्ने काम गरे : वरिष्ठ अभिवक्ता भण्डारी

काठमाडौँ – वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपालको राज्यसंयन्त्रलाई पटक–पटक ढाँट्ने र छल्ने काम गरेको बताएका छन् ।

लामिछानेको नागरितासम्बन्धी मुद्दामा संवैधानिक इजलासमा आजको जवाफी बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘रवि लामिछानेलेमा कानून मिच्ने प्रवृत्ति देखिएको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र अहिले उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका लामिछानेमा पहिलेदेखि नै कानुन मिच्ने प्रवृत्ति देखिएको दावी गरे ।

‘उहाँले कतै पनि इमानदारी देखाउनुभएको छैन । अमेरिका अध्ययन गर्न गएको भन्नुभएको छ, फेरि अहिले अमेरिका गएर पढेको छैन भन्नुभएको छ,’ भण्डारीले भने, ‘पछि पारिवारिक भिसामा नेपालमा आएर उहाँले काम गर्नुभयो । त्यसमा विवाद भयो । पछि अमेरिकाको नागरिकता त्यागेको डकुमेन्ट निर्वाचन आयोगमा मात्रै पेस गरेको देखिन्छ । विदेशमा त्यागेको निस्सा तोकिएको अधिकारीलाई पेस गर्नुपर्नेमा अहिलेसम्म पेस गरेका छैन ।’

उनले अहिलेसम्म रविले नागरिकता त्यागेको राज्यलाई थाहा नभएको पनि जिकिर गरे । नागरिकतासम्बन्धी संशोधन ऐनले नागरिकता पुनः पाउन निस्सा दर्ता गरेर मात्रै निर्णय हुने व्यवस्था गरेको पनि उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार