‘पठान’ले पहिलो दिन कति कमायो ?

एजेन्सी। बलिउड स्टार शाहरुख खानको फिल्म ‘पठान’ धमाधम सुरु भएको छ । फिल्मलाई लिएर फ्यान र समीक्षकहरु निकै उत्साहित देखिएका छन् । बलिउडमा ‘किंग खान’ भनिने शाहरुख खान चार वर्षपछि सुनौलो पर्दामा फर्किएका छन् । सिनेमा हलमा पुग्नुअघि नै यो चलचित्र निकै चर्चामा छ । बुधबार रिलिज भएको चलचित्र ‘पठान’ यो वर्षकै सबैभन्दा धेरै हिट हुने चलचित्र समीक्षकहरुले बताएका छन् ।

केहीले फिल्मको कथानकको आलोचना गर्दै यसलाई अनावश्यक र हास्यास्पद भनेका छन् तर बाँकी भने शाहरुख खान पर्दामा आफ्नो जादु फैलाउन सफल भएको बताएका छन् । पठानमा दीपिका पादुकोण र जोन अब्राहम जस्ता स्टारहरू पनि मुख्य भूमिकामा छन्।

यो फिल्म पठान पात्रको कथामा आधारित छ, जसमा शाहरुख खानको भूमिका छ । फिल्ममा, पठान एक खुफिया मिशनमा छन् जसको काम एक चरमपन्थी समूहलाई भारतमा आक्रमण गर्नबाट रोक्नु हो।

युट्युबमा फिल्मको ट्रेलर पाँच करोडभन्दा बढीले हेरिसकेका छन् । फिल्म समीक्षक तरण आदर्शका अनुसार यो फिल्म विश्वभर ८ हजार स्क्रिनमा रिलिज भएको हो, जुन बलिउड फिल्मका लागि सबैभन्दा ठूलो ओपनिङ हो ।

प्रख्यात फिल्म ट्रेड समालोचक कोमल नाहटाले भारतमा पठानको पहिलो दिन ५७ करोडको व्यापार भएको बताए ।उनले ट्वीट गरेका छन्, यो कुनै पनि हिन्दी फिल्मको सबैभन्दा ठूलो ओपनिङ हो। त्यो पनि त्यतिबेला जब छुट्टी थिएन र फिल्मको सिक्वेल थिएन।

बुधबार शाहरुख खानले ट्वीट गर्दै उत्तर भारतमा कोभिड–१९ को समयमा बन्द गरिएका २५ सिंगल स्क्रिन सिनेमा हल ‘पठान’ देखाउन पुनः खोलिएको बताए ।

पहिलो दिनमै सय करोड

फिल्मको प्रोडक्सन हाउस यशराज फिल्म्सका अनुसार हिन्दी संस्करणको रिलिजले पहिलो दिन ५५ करोड र भारतका अन्य भाषामा २ करोड रुपैयाँ कमाएको छ । जबकि ओभरसिज स्क्रिनिङले ४.५ मिलियन डलर (लगभग ३६.६ करोड रुपैयाँ) कमायो।

पठानको वल्र्ड वाइड ओपनिङ डे रेकर्डले सबै हिन्दी फिल्मलाई पछि पार्दै पहिलो दिन १०६ करोड रुपैयाँ कमाएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार