सुर्खेत – कर्णालीका हिमाली जिल्लामा हिमपात भइरहेको छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । लामो समयदेखि काला देखिएका डाँडाकाँडा हिउँले सेताम्य भएका छन् ।
डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ । लामो समयदेखि पानी नपरेर आकाशे पानीको भरमा लगाएको बालीनालीमा भने राहत पुगेको छ । हिमाली क्षेत्रमा हिमपात हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ ।
चिसोका कारण जनजीवन मुस्किल हुँदै गएको छार्काताङसुङका निमा गुरुङले बताउनुभयो । निम्न वर्गका स्थानीयवासीलाई मात्र हिमाली जिल्लामा रहेका कारण चिसोको प्रभाव त्यहाँ परेको छ । जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँबालीलगायत बेमौसमी तरकारी बालीमा राहत पुगेको किसान बताउँछन् ।