विश्वकप छनोटमा नेपाल जोर्डनसँग पराजित

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा छनोट अन्तगर्तको आफ्नो सातौं खेलमा नेपालले जोर्डनसँग ३–० को अन्तरले हार बेहोरेको हो ।

जोर्डनले नेपालमाथि जितसँगै समूह बी को दोस्रो स्थानमा उक्लेको छ । उसले ६ खेलबाट १३ अङ्क जोडेको छ । कुवेतले समान ६ खेलबाट मात्र १० अङ्क जोडेको हो । जोर्डनको छनोट खेलमा लगातार यो चौथो जित हो ।

कुवेतस्थित अल जबार अन्तर्राष्ट्रिय रङशालामा सम्पन्न खेलमा जोर्डनले तीन वटै गोल फ्रि किक र पेनाल्टी मार्फत् नै सम्भव बनायो ।

पहिलो हाफको सुरु देखि नै जोर्डनले आक्रामक खेल पस्केको थियो । तर २३ औं मिनेटमा मात्रै उसले गोलको खाता खोल्न सक्यो । डिफेन्डर रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र सुलेमानलाई लडाउन पुग्दा जोर्डनले पेनाल्टीको अवसर पायो । बाहा फैसल सेफले पेनाल्टीलाई गोलमा परिणत गरेर जोर्डनलाई १–० को अग्रता दिलाए । गोलकिपर किरण चेम्जोङले पेनाल्टी प्रहार रोक्न दायाँ तिर ‘डाइभ’ लगाउँदा बल गोलपोष्ट चुमिसकेको थियो । बाहा फैसलले जोर्डनका लागि आफ्नो २८ औं खेलमा ११ गोल पुरा गरे ।

खेलको २९ औं मिनेटमा डिफेन्डर विकास खवास घाइते भएर मैदानबाट बाहिरिँदा सुनिल बल मैदानमा प्रवेश गरे । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अञ्जन विष्टले भेटन नसक्दा नेपालले गोल गर्ने अवसरबाट बञ्चित हुन पुग्यो ।

पहिलो हाफसम्म १–० को अग्रता बनाएको जोर्डनले दोस्रो हाफको सुरुवातमै गोल थप्दै २–० को अग्रता लियो । ६७ औं मिनेटमा एजान अल अरबले गोल गर्दै जोर्डनको अग्रता ३–० पारे । उक्त गोल नै जोर्डनको नेपालमाथि जितका लागि पर्याप्त भयो ।

नेपालले छनोटको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल जुन ११ मा हुनेछ । उक्त खेलपछि कुवेत र जोर्डनबीच स्पर्धा हुनेछ । कुवेत र जोर्डनबीचको उक्त खेल विश्वकपका लागि छनोट हुने टोलिको समीकरण पुरा गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार