‘हरियो पासपोर्टभित्रका कैदीहरू’

कविता

‘हरियो पासपोर्टभित्रका कैदीहरू’

देशमा आसुको वर्षा झारेर
पसिनाको बर्षा
अरबमा झार्न
एउटा मोनालिसा फोटो
त्रिभुवन बिमानस्थलमा खिचेर
भर्खर उसले देश छोड्यो।

भोलि बाट उसले बिर्सनेछ
गाउमा बिताएको पच्चिसौ बसन्त
सम्झनेछ त केवल
पासपोर्ट भित्रको आफ्नो जवान चित्र।

माथि आकाशबाट हेर्नेछ।
लहर नमिलेको इटाको थुप्रो जस्तो काठमाडौ
हिमालका शहरहरु
पृथ्वीनारायणका सेना जस्तै पहाडहरु
अनि,दछिण बाट उडि आएको बादलका थुम्काहरु
तराइको उखु खेती
बडेमाको अजिङ्गर जस्तो नदिहरु
भुकम्पमा भत्किएको गाउँ
र,बनिदै गरेको धरहरा
यसरी उसले देश भिजिट गर्दै
सात समुन्द्र कट्ने छ।
पुग्नेछ पानी जस्तै उडेर तेल र ग्यासहरुको देश।

त्यस पछि,
त्यो समुन्द्रको पानीमा
उसले मेरो नदिको पानी पनि छ
छाम्न पाउदैन।
यो पृथ्वी मेरो पनि हो भन्न पाउदैन।
घाम,जुन,ताराहरु आफ्नो सोच्न पाउदैन।
मात्र सोच्न पाउनेछ।
म बिक्रि भएको आधुनिक मान्छे।

ठिक,त्यही बेला
पानी पर्नेछ अरबमा।
ठिक यहि बेला छाता ओड्नेछ सिंहदरबार।

हरियो पासपोर्ट भित्रका कैदिहरु रुझ्नेछन।

– महेन्द्र राई

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार