सियारीमा पशुपालक किसानलाई अनुदान

रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिक रुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई रु ४८ लाख ८७ हजार ४०० अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख गणेश खनालले जानकारी दिए ।

गाउँपालिका–४ र ५ का किसानले पशुका लागि रु ४४ लाख १८ हजार र विभिन्न उपकरण तथा सामग्री बापतको रु चार लाख ६९ हजार ४०० अनुदान रकम पाएका छन् । सोअन्तर्गत लागत साझेदारी कार्यक्रम तथा त्रिपक्षीय साझेदारी कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको रु २४ लाख ५२ हजार ७०० र गाउँपालिकाको रु २४ लाख ३४ हजार ७०० अनुदान रकम रहेको छ ।

अनुदान प्राप्त गर्न किसानले कम्तीमा पनि दुई थान गाई वा भैँसी पाल्नुपर्ने र समूह बनाउनुपर्ने प्रावधान छ । गाउँपालिकामा अहिले १०÷१० जनाको पाँच समूह रहेको छ । गाउँपालिकामा लागत साझेदारी तथा त्रिपक्षीय साझेदारी कार्यक्रम लागू भएपछि समूह बनाई किसानलाई विभिन्न किसिमका तालीम, उपकरण वितरण, औषधोपचारलगायत काम गर्दै आएको गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताए ।

अनुदान रकम लिएका किसानलाई रकमको सही ठाउँमा सदुपयोग गर्न गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले आग्रह गरे । लागत साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई १४ विद्युतीय च्यापकटर र ६० थान काउम्याट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले जानकारी दिए ।

गाउँपालिकाले गाई गोठ, बाख्रा गोठ, कुखुरा खोर सुधार तथा पोखरी निर्माण, विभिन्न कृषि यन्त्र वितरणलगायत कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसँग सम्बन्धित किसानलाई समेत अनुदान वितरण गर्दै आएको छ । गाउँपालिकामा अहिले बाच्छी हुर्काउने कार्यक्रमअन्तर्गत बाच्छीको जन्मदर्ता गरिदिने, राम्रोसँग पालनपोषण गरे रु १० हजार अनुदान दिने तथा बीमा, औषधोपपचार गरिने व्यवस्थासमेत लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार