एनआइसी एशिया बैंकले ६ महिनामा कमायो ३ अर्ब २७ करोड

एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

दोस्रो त्रयमाससम्ममा बैंकले ३ खर्ब ८ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६६ अर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकले वार्षिक प्रतिशेयर आम्दानी ५६.७७ रुपैयाँ आर्जन गरेको छ । स्व-पूँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ रू. ३.२७ अर्ब आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको छ ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७९/८० को दोस्रो त्रयमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार