अन्तर्राष्ट्रिय उडान तर्फको हवाई इन्धन २० प्रतिशतले घट्यो

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाई इन्धनको मूल्य घटाएको छ । नेपाली इतिहासमै पहिलो पटक निगमले हवाई इन्धनमा २० प्रतिशत मूल्य घटाएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले २३ गते राती (आइतबार) १२ बजेपछि लागू हुने गरी साविकको मूल्य अमेरिकी डलर ८९३ प्रति किलो लिटरमा १७८ ले घटाएको जानकारी दिए । अब नेपाली बजारमा प्रति किलो लिटर ७१५ अमेरिकी डलरमा पाइने भएको छ ।

निगमले हवाई इन्धनबाट पाक्षिक १ करोड ५० लाख नाफा आर्जन गरिरहेको थियो । तर, यो नाफा एलपी ग्यासमा भइरहेको पाक्षिक ५० करोडको तुलनामा निकै कम भएको भन्दै मूल्य घटाउन राजी भएको हो ।

निगमको संचालक समितिको बैठकले वर्तमान अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशत सम्म नाफा राखि मूल्य निर्धाण गर्ने नीति पारीत गरेको थियो ।

अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको गुनासो एयरलाइन्सले गरेका थिए ।

सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको छलफलपछि यस्तो निर्णय लिइएको निगमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार