एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा खड्कालाई हटाएर दुर्गा विक

नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी विकलाई दिइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले लालबहादुर खड्कालाई हटाएर विकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी विकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए ।

यसअघि एमाले संसदीय दलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो । तर उनी सामाजिक विकासमन्त्री बनेपछि पार्टीकी सचेतक समेत रहेकी विकलाई प्रमुख सचेतकको काम कारबाही हेर्ने गरी जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ ।

तामाङलाई कार्य व्यवस्था परामर्श समितिबाट पनि हटाइयो
एमाले संसदीय दलले प्रदेशसभा सदस्य तारा लामा तामाङलाई प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट समेत हटाएको छ ।

हालै पार्टीको तत्कालीन प्रमुख सचेतकबाट जिम्मेवारीमुक्त गरिएका तामाङलाई कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट हटाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव धामीले तामाङको ठाउँमा अहिले प्रमुख सचेतकको जिम्मेवारी दिइएकी विकलाई सदस्य बनाइएको जानकारी प्राप्त भएको जनाए ।

उनका अनुसार कार्य व्यवस्था परामर्श समितिबाट अर्चना गहतराजलाई पनि हटाइएको छ । गहतराज राज्यमन्त्रीमा नियुक्त भएका कारण उनको ठाउँमा प्रदेशसभा सदस्य अमरबहादुर साउदलाई ल्याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार