डोल्पा- जिल्लाकाे उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको छ । एसइई र कक्षा १२ मा साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका बासिन्दालाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिका कोषबाट छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको हो ।
निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए ।
१५ दिने सूचना खोलेर आवेदन खोलिएकाले उत्तीर्ण गरेको तहमा ल्याएको अंक तथा ग्रेडका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने शर्माले बताए ।गाउँपालिकाको कार्यविधिअनुसार राम्रो ग्रेड ल्याएका २७ जना व्यक्तिलाई मात्र छात्रवृत्तिका लागि छनोट गरिने उनको भनाइ छ ।