लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आज नयाँ मुख्यमन्त्री नियुक्त गरिँदै

'लुम्बिनी र सुदूरपश्चिममा एमाले, कर्णालीमा माओवादीले मुख्यमन्त्री बनाउने'

कैलाली । तीन प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेश प्रमुखले आज नयाँ मुख्यमन्त्री नियुक्त गर्ने छन् । यी तीनै प्रदेशमा दलहरूलाई दाबी पेश गर्न दिएको समय सीमा सकिने भएकोले नयाँ मुख्यमन्त्री नियुक्त हुने निश्चित भएको हो ।

केन्द्रमा भएको सहमति अनुसार लुम्बिनीमा लीला गिरी, कर्णालीमा राजकुमार शर्मा र सुदूरपश्चिममा राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने छन् । गिरी र रावल एमालेका हुन् भने शर्मा माओवादी केन्द्रका हुन् ।

लुम्बिनीमा आज अपराह्न ४ बजेसम्मको समयमा दाबी पेस गर्न समय छ । यो प्रदेशमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यकता पर्छ । प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३ सांसद छन् । नागरिक उन्मुक्तिका ४ र स्वतन्त्रबाट २ सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सदस्य छन् ।
बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेपछि आज नै प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा लीला गिरीलाई नियुक्त गर्नेछन् ।

यता कर्णालीमा माओवादी संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् । ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक र एक जना छन् ।

सुदूरपश्चिममा एमालेका राजेन्द्र रावलले दाबी पेश गर्ने भएका छन् । सत्ता गठबन्धनका अन्य तीन दललाई साथमा लिएर निर्धारित समय भित्रै उनले दाबी पेश गर्ने बताइएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार