खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।

नेपालगन्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा संक्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।

खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ ।

मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगन्ज उपमहानगरपालिकामा संक्रमण फैलिएको छ । नेपालगन्जमा ९० जनामा दादुरा पुष्टि भइसकेको छ भने एकजनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार