प्रदेश २ को जसपा संसदीय दलको नेतामा राउत चयन

जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बसेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपा स्रोतले जानकारी दिएको छ ।

संसदीय दलमा चयनसँगै आजै प्रदेशसभा सचिवालयमा पत्र सहित जानकारी गराइने भएको छ । यससँगै प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने सम्भावना बढेको छ । बैठकबाट जसपाको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता समेत चयन गरिएको एक नेताले बताए ।

संघीय सरकारमा महन्थ–राजेन्द्र समुह ओली सरकारमा सहभागी भएसँगै प्रदेश– २ मा समेत सरकार पुनर्गठन हुने चर्चाबीच अध्यक्ष यादवले आफ्नै उपस्थितिमा संसदीय दलको बैठक बोलाएर संसदीय दलको विधान पनि पारित गराएका हुन् । तत्कालीन समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेश सभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेको बताइएको छ ।

प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन् । तालमेल गरी चुनाव लडेका यी दुईले समाजवादीका नेता राउतको नेतृत्वमा प्रदेश सरकार बनाएका थिए । गत वर्ष पार्टी मिलेर एक भएपछि एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार