न्यायाधीशद्वय कार्की र भट्टराई संवैधानिक इजलासबाट बाहिरिनुपर्ने महान्यायाधिवक्ताको माग

महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई बाहिरिनुपर्ने बताएका छन् ।

जेठ १८ गते दुवै न्यायाधीशले दिएको रायले सरकारी पक्षलाई निष्पक्ष न्याय सम्पादन हुनेमा आशंका उब्जिएको भन्दै महान्यायाधिवक्ता बडालले उक्त आग्रह गरेका हुन् । ‘पूर्वाग्रहको आशंका भए पुग्छ भनेर आनन्दमोहन श्रीमानले नै लेख्नुभएको छ, हामीलाई यो इजलासमा आशंका छ’ उनले भने ।

उनले विष्णुको आसनमा प्रश्न लिएर उभिएपछि भगवानले पनि विचार गर्नुपर्ने भन्दै के हामी अहिले विकल्प विहिन अवस्थामा छौं भन्दै प्रश्न गरे । ‘यो भन्दा अगाडि पनि एकपक्षीय भयो । त्यसबेला समयमा पनि हामीलाई न्याय भएको थिएन । हामी के चाहन्छौं भन्ने समानता हुनुपर्छ । प्रक्रियामा पनि हामीले जस्टिस खोजेका छौं’, उनले इजलासमा भने ।

गत फागुन २३ गते नेकपा नाम सम्बन्धि मुद्दाको फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसको पुनरावलोकन नदिने इजलासमा सहभागी न्यायाधीश तेजबहादुर केसीले संवैधानिक इजलास छोड्नुपर्ने भनेर जेठ १८ गते न्यायाधीशद्वय कार्की र भट्टराईले राय पेस गरेका थिए । केसी र श्रेष्ठले इजलासबाट बाहिरिन नमानेपछि कार्की र भट्टराईले इजलास छोडेका थिए ।

गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्धका मुद्दाका सुनुवाइका क्रममा सरकारी पक्षले रिट निवेदकले जति समय नदिइएको भनेर आरोप पनि बडालले लगाए । उनले प्रक्रियामा ‘जस्टिस’ गर्न आग्रह गरेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार