सत्ता साझेदार दलबीच प्रदेशको भागबण्डा टुंगियो, कसको भागमा के पर्‍यो?

प्रदेशसभा सभामुख, उपसभामुखको भागबण्डा

सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै प्रदेशका सभामुख र उपसभामुखको पनि भागबण्डा भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मुख्यमन्त्रीसँगै सभामुख र उपसभामुख पनि टुंगो लगाएको हो ।

सत्ता साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ । तीन वटा प्रदेशमा भने आलोपालो हुनेछ ।

शीर्ष नेताहरुको बैठकमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी कर्णाली प्रदेशको सरकार भने ५ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्नेछ ।बाग्मती र सुदूरपश्चिमा एमाले र माओवादीबीच आलापालो हुनेछ ।

यो सहमतिअनुसार बागमतीमा पहिलो पटक माओवादीले नेतृत्व गर्नेछ। सुदूरपश्चिममा पहिलो पटक एमालेले नेतृत्व गर्नेछ । यस्तै मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने सहमति भएको छ ।

सभामुख र उपसभामुख पनि टुंगो

सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै प्रदेशका सभामुख र उपसभामुखको पनि भागबण्डा भएको छ ।  सत्ता साझेदार दलहरुबीचको सहमति अनुसार माओवादीले चारवटा प्रदेशको सभामुख पाएको छ भने एमालेले २ वटा र राप्रपाले १ प्रदेश सभामुख पाएको छ । एमालेले मधेश र कर्णाली प्रदेशमा सभामुख एमालेले लिने सहमति भएको छ भने माओवादी केन्द्रले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सभामुख पाउने भएको छ ।

त्यसैगरी बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा पर्दा प्रदेश १ र गण्डकीको उपसभामुख एमालेको भागमा परेको छ । माओवादी केन्द्रले बागमती र कर्णालीमा उपसभामुख पाउँदा लुम्बिनीको उपसभामुख राप्रपाले पाएको छ ।

मधेश प्रदेशको उपसभामुख जनमत पार्टीले लिने र सुदूरपश्चिम प्रदेशको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई लिने गरी सहमति भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार