प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाई आज

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा २३ जेठमा सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो । इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ ।

यसअघि प्रधानन्यायाधीश राणाले गठन गरेको इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेपछि विवाद भएको थियो ।

न्यायाधीश केसी र श्रेष्ठले आफूहरूमाथि प्रश्न उठे पनि इजलासमा कायम रहने निर्णय गरेपछि इजलासमा रहेका अरू दुई न्यायाधीश आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले आफूहरू अलग हुने निर्णय गरेका थिए ।

सर्वोच्च बारका पदाधिकारीसँगको छलफल र सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमा (फुल कोर्ट) प्रधानन्यायाधीश राणाले अबको संवैधानिक इजलास रोष्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा गठन गर्ने सहमति जनाएका छन् ।

गत शुक्रबार नागरिकता अध्यादेशसम्बन्धी परेका मुद्दाको सुनुवाइ गर्न राणाले वरिष्ठताका आधारमा न्यायाधीश छानेर संवैधानिक इजलास गठन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार