जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दालाई प्रधानमन्त्री केपी ओलीले अघि बढाएकाले सरकारमा सहभागी भएको बताएका छन् ।
शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई गरिएको स्वागत कार्यक्रममा अध्यक्ष ठाकुरले आफुहरुको केहिमाग पुरा भएको र केही माग पुरा हुन बाँकी रहेकाले सरकारमा सहभागी भएको बताएका हुन् । उनले आफूहरूले लामो समयदेखि राख्दै आएको मागलाई सकेसम्म पुरा गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएको जिकिर गरे । अध्यक्ष ठाकुरले रेशम चौधरीलाई लगाएको मुद्दा, नागरिकता लगायतका विषय सरकारबाट सम्बोधन हुने क्रममा रहेको बताए । उनले केही व्यक्तिले नागरिकलाई राष्ट्रियतासँग जोडेर हेरेका कारण समस्या देखिएको धारणा राखेका छन् ।
कार्यक्रममा जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले संविधानमा आवश्यक संशोधनको कामका लागि सरकारमा बसेर पहल गर्ने बताए । आफुहरुको माग मुद्दालाई पुरा गर्नका साथै पार्टीको आगामी मिसन प्राप्तिका लागि पनि सक्षमताका साथ काम गर्ने उनले बताए । महतोले पार्टी विभाजित अवस्था देखिएकाले निर्वाचन आयोगबाट वैधानिकता लिने स्पष्ट पारे ।
नवनियुक्त मन्त्रीहरूलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न पनि उनले निर्देशन दिए । त्यस्तै उनले हिमाल पहाड तराईका क्षेत्रबाट जसपा प्रति भरोसा हुने गरि जनताको सेवा लाग्ने जिकिर गरेका छन् ।