कोरोना महामारी नियन्त्रण र उपचारमा २३ अर्ब १६ करोड खर्च

नेपालमा कोरोना भाइरस महामारीको नियन्त्रण र उपचारका लागि गएको वैशाख महिनासम्ममा २३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ ।

त्यसमध्ये ९ अर्ब ६ करोड रुपैयाँ भन्दा बढी बजेट स्थानीय तहले खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । वैशाख मसान्तसम्म नेपालमा २७ लाख ३३ हजार परीक्षण गरिएकामा ४ लाख ३९ हजारभन्दा बढीलाई कोरोना भाइरसको सङ्क्रमण देखा परेको थियो भने कोभिड १९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ६ सय भन्दा बढी थियो ।

जेठ १९ सम्मको आँकडामा सङ्क्रमितको सङ्ख्या बढेर ५ लाख ७१ हजार नाघेको छ भने मृतकको सङ्ख्या ७ हजार ५ सय काटेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा वैशाख मसान्तसम्म सङ्घ, प्रदेश तथा स्थानीय सरकारमार्फत कोभिड १९ सँग सम्बन्धित विषयमा २३ अर्ब १६ करोड रुपैयाँ खर्च भइसकेको उल्लेख छ । उक्त रकममध्ये ९ अर्ब ५९ करोड रुपियाँ अघिल्लो आर्थिक वर्षमा खर्च भएको छ ।

सङ्घीय कोरोना कोष र विनियोजित रकम गरी जम्मा ३४ अर्ब ११ करोड रुपैयाँ छुटाइएकोमा वैशाख मसान्तसम्म १० अर्ब ९५ करोड रुपैयाँ खर्च हुनै बाँकी रहेको छ ।

कुल खर्चमध्ये वैशाख मसान्तसम्म प्रदेश सरकारले ३ अर्ब २ करोड रुपैयाँ र स्थानीय सरकारले ९ अर्ब ६ करोड रुपैयाँ खर्च गरेका छन् । पहिलो लहरका समयमा केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई क्वारेन्टिन र आइसोलेसन केन्द्रहरूको व्यवस्थापनका लागि डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम उपलब्ध गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार